आजसम्म कति जना शिक्षकको जीवनी पढ्नुभयो?


शिक्षक साथी! तपाईं शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर शिक्षक नियुक्त भएपछि कक्षाकोठामा जानुअघि कुनै तालिम लिनुभयो? तपाईंलाई संघीय शिक्षा मन्त्रालयको वा प्रदेशको कुनै निकायले तालिम लिन बोलायो? स्थानीय तहले बोलाएको छ?

त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र संकाय छ, स्नातकोत्तर तहसम्म पढाइ हुन्छ। यो संकाय शिक्षण पेसाका लागि हो, यहाँ पढ्नुको एउटा उद्देश्य भविष्यमा शिक्षक हुनु हो। 

यो संकायमा पढेको विद्यार्थी शिक्षक हुन तालिमप्राप्त मानिन्छ तर व्यवहारमा यो तालिम होइन, औपचारिक शिक्षा हो, सैद्धान्तिक पढाइ हो।

शिक्षक साथी! तपाईंले शिक्षाशास्त्र संकायबाट स्नातकोत्तर पूरा गर्दासम्ममा कक्षामा शिक्षण–सिकाइका लागि केके सिप सिक्नुभयो? कुनकुन शैक्षिक सामग्री बनाउन वा बनाउन लगाउन सिक्नुभयो? विद्यार्थीलाई सिकाइमा उत्प्रेरित गर्ने कुनकुन तरिका सिक्नुभयो? कुनै दक्ष शिक्षकको कक्षा अवलोकन गर्न कति पटक कहाँकहाँ जानुभयो?

नर्सिङ पेसामा 'लेडी विथ द ल्याम्प' उपनामले इट्लीकी फ्लोरेन्स नाइटिंगेल प्रसिद्ध भएझैं कुनै शिक्षकको प्रसिद्धिबारे पढ्नुभएको छ? धेरै राजनीतिज्ञ, वैज्ञानिक, दार्शनिक, साहित्यकार आदिका जीवनी पढ्नुभयो होला। आजसम्म कति जना शिक्षकको जीवनी पढ्नुभयो?

यस्तो जीवनी पढेर म पनि तीजस्तै शिक्षक बन्छु भनेर प्रेरणा पाउनुभयो? शिक्षाशास्त्र संकाय पढेर म शिक्षक नै बन्छु, शिक्षक बन्नुबाहेक मेरो अर्को उद्देश्य छैन भनेर प्रतिबद्ध हुनुभयो? 

तपाईंलाई शिक्षणमा सेवाप्रवेश गर्दा आधारभूत तथा सेवाकालमा विशिष्ट तालिम दिने सरकारी वा स्वायत्त निकायबारे जानकारी छ? शिक्षक हुन शिक्षाशास्त्र संकाय पढेको भन्नेबाहेक सेवाप्रवेश गर्दाको अनिवार्य आधारभूत तालिमबारे जानकारी छ?

यहाँ थाहा पाउनुपर्ने कुरा के छ भने शिक्षा सेवा आयोगको परीक्षामा सहभागी हुन सबै विषयमा शिक्षाशास्त्र संकाय पढेको हुनु अनिवार्य छैन। यसमा विषयअनुसारको विभेद छ भनेर बुझ्दा पनि भयो।

शिक्षक साथी! यहाँ ऊ तालिमसम्बन्धी केही निकायहरूको चर्चा गर्छ। 

निजामती सेवा प्रवेशका लागि लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर नियुक्ति पाएपछि प्रशिक्षण दिने दुई वटा निकाय छन्। 'नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान' छ जसले राजपत्र अनंकित तहका कर्मचारीहरूलाई प्रशिक्षण दिन्छ। यो निकाय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत छ।

अर्को छ 'नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान'।

यसले राजपत्रांकित कर्मचारीलाई प्रशिक्षण दिन्छ, सेवाप्रवेश तथा सेवाकालीन। यो स्वायत्त निकाय हो तर कर्मचारी सरकारले दिन्छ।

सुरक्षा निकायमा त तहतहको तालिम र प्रशिक्षण चल्छ। 'नेपाली सैनिक प्रतिष्ठान' ले सेवाप्रवेशको आधारभूत तालिम दिन्छ। शान्ति सेनामा जानेका लागि 'वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र' छ। उच्च अधिकृतहरूका लागि 'सैनिक कमान्ड तथा स्टाफ कलेज' छ। 'वार कलेज' विशेष किसिमको भइगयो।

नेपाल प्रहरीमा त सेनामा भन्दा बढी छ। आधारभूत तालिम दिन 'राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान' छ। तहगत र विषयगत तालिमका लागि नेपाल प्रहरी शिक्षालय, प्रहरी तालिम केन्द्र, अपराध अनुसन्धान विद्यालय, युक्ति तालिम विद्यालय छन्। 

सशस्त्र प्रहरीतर्फ हेर्नुभयो भने राष्ट्रिय एकेडेमी, कमान्ड स्टाफ कलेज, प्रकोप व्यवस्थापन तालिम स्कुल, राष्ट्रसंघीय शान्तिकार्य तालिम केन्द्र छन्। 

तपाईंलाई शिक्षकलाई सेवाप्रवेश तथा सेवाकालीन तालिम दिने कुनै प्रतिष्ठान वा यस्तै निकायबारे कति जानकारी छ?

सबैभन्दा माथिल्लो तालुकवाला निकाय 'शिक्षा तथा मानवस्रोत विकास केन्द्र' छ। यस अन्तर्गत 'शिक्षक तालिम शाखा' छ। यसले शिक्षक तालिमका नीति बनाउने, मापदण्ड तय गर्ने र स्तरीकरण गर्ने, पाठ्यक्रम प्रारूप तयार गर्ने, सिप परीक्षण गर्ने लगायतका काम गर्छ। प्रशिक्षक प्रशिक्षण चलाउँछ।

सातवटै प्रदेशमा 'शिक्षा तालिम केन्द्र' हरू छन्। 

शिक्षकका लागि तीन किसिमका तालिमको व्यवस्था छ– सात दिनको सेवा प्रवेश तालिम, पाँच दिनको मनोसामाजिक विकाससम्बन्धी तालिम, एक महिनाको पेसागत विकास तालिम।

यो एक महिने तालिममा दुई चरण चल्छ। पन्ध्र दिन प्रशिक्षकले चलाउँछन् र बाँकी पन्ध्र दिन शिक्षकले आफ्नो कक्षामा अभ्यास गर्नुपर्छ। यो तालिममा सहभागिता अलिक बढी छ।

मनोसामाजिक विकाससम्बन्धी तालिम स्थानीय तहको जिम्मामा छ। यो तालिम विद्यार्थी र अभिभावकसँग शिक्षकले गर्ने व्यवहारसँग बढी सम्बन्धित छ।

यीबाहेक अन्य तालिम पनि छन्– इन्टरनेटयुक्त आधुनिक प्रविधिसम्बन्धी आइसिटी तालिम, प्रधानाध्यापकका लागि नेतृत्व विकास तालिम, अभिभावक शिक्षा छन्।

शिक्षक साथी! उल्लिखितमध्ये तपाईं कुनकुन तालिममा सहभागी हुनुभयो? सात दिनको सेवाप्रवेश तालिममा सहभागी हुन खबर पाउनुभयो? वा तपाईंको कोही शिक्षक साथीले यस्तो तालिम लिएको जानकारी छ?

विद्यालय शिक्षामा शिक्षकव्यक्ति कक्षामा शिक्षण–सिकाइ गतिविधि गर्न स्वतः दक्ष छ भन्ने जबरजस्त पूर्वधारणा व्याप्त रहेछ। हुन पनि आफूले पढेको–जानेको कुरा सिकाउने त हो भन्ने मान्न पनि सकिने भयो।

यहाँ मुख्य कुरा शिक्षकले पाठ्यवस्तु कति जानेको छ वा पर्याप्त जानेको छ भन्ने कुरा महत्वको होइन। शिक्षकले कति दक्षतापूर्वक सिकाउन सक्छ, शिक्षण–सिकाइका सिपहरू कति दक्षतापूर्वक प्रयोग गर्न सक्छ भन्ने कुरा मुख्य हो।

तालिम चाहिएको पाठ्यवस्तुका लागि होइन, शिक्षण–सिकाइको सिप विकासका लागि हो। शिक्षक तालिमको मुख्य समस्या यहीँनेर छ भन्ने उसलाई लागेको छ।

विद्यालयमा भर्खरै प्रवेश गरेका पाँच–छ वर्ष उमेरका अबोध बालबालिकादेखि दस कक्षाका पन्ध्र–सोह्र वर्षका वा एघार–बाह्र कक्षाका सत्र–अठार वर्षका विद्यार्थीको शिक्षण सिकाइमा खास किसिमको सिप आवश्यक पर्छ। 

हरेक पेसा–व्यवसायमा खास आचारसंहिता हुन्छ। गर्न हुने र गर्न नहुने कुरा हुन्छ। कुनै गर्नै हुँदैन त कुनै गर्नै पर्ने हुन्छ।

शिक्षकले के बोल्नु हुँदैन, के भन्नु हुँदैन, के गर्नु हुँदैन, विद्यार्थीको आत्मविश्वास बढाउन के गर्नुपर्छ, पढाइमा रूचि जगाउन के गर्नुपर्छ, अनुशासन के हो, के हुँदा अनुशासन भंग भएको हुन्छ, विद्यार्थीलाई दण्ड दिँदा केके कुरामा ध्यान दिनुपर्छ, कुनै कारणले दुःखी भएको वा रिसाएको अभिभावकको चित्त बुझाउन के गर्नुपर्छ– यस्ता अनेक प्रश्नहरू हुन सक्छन्। 

शिक्षकसँग पाठ्यवस्तुका सबै प्रश्नको जवाफ भए पनि उपर्युक्त प्रश्नहरूको ठोस जवाफ नहुन सक्छ। उपर्युक्त प्रश्नहरू मनोविज्ञानसँग सम्बन्धित छन्, सामाजिक विज्ञानसँग सम्बन्धित छन् अर्थात् मनोसामाजिक छन्। मनोसामाजिक पक्ष गम्भीर हुन्छ। यी पक्षसँग सम्बन्धित समस्या गम्भीरतापूर्वक समाधान गरेको हुनुपर्छ।

शिक्षक तालिमको पाठ्यक्रममा यी पक्षहरू कति समावेश छन्? उसको मुख्य चासो यसमा छ। उसलाई तीन दशकभन्दा लामो शिक्षण अनुभवमा पाठ्यवस्तुमा सामान्यतया कसैको सहयोग लिन परेको छैन तर विद्यार्थीको मनोसामाजिक समस्यामा धेरै पटक गम खाएको छ। अक्क न बक्क भएको छ?

उसले केही वर्षअघि एक छात्रालाई सोधेको थियो– तिमी नियमित रूपमा स्कुल आउँदिनौ, पढाइमा पनि कमजोर हुँदै गयौ, किन? तिमीलाई के समस्या परेको छ?

छात्रा अलमलमा परी, अनुहारमा यस्तो कुरा किन सोधेको होला भन्ने भाव देखा पर्‍यो। केही समस्या छैन भनेर उम्किन खोजी। उसले समस्या बताउन प्रेरित गर्‍यो। 

भनी, 'सर मलाई पढ्नै मन लाग्दैन।'

'किन?' 

'किन किन, मलाई नै थाहा छैन।'

'तिमीलाई के गर्न मन लाग्छ?'

'केही गर्न मन लाग्दैन।'

'केही गर्न मन नलाग्ने भन्ने पनि हुन्छ र! अक्षर चिनिहाल्यौ, आफूलाई चाहिने कुरा पढ्नलेख्न सकिहाल्छ्यौ। धेरै पढ्नै पर्छ, पास (उत्तीर्ण) नभई हुँदैन भन्ने के छ र! तिमीलाई रूचि हुने कुनै काम गर्न सक्छ्यौ नि!'

'के गर्नु र सर, स्कुल जान्नँ भन्दा घरमा मान्दैनन्, जबरजस्ती पठाउँछन्।'

'कि तिमी लभ (मायाप्रेम) मा परेकी छ्यौ?'

'छैन, खासमा मलाई पढ्न मन लाग्दैन।'

ऊसँग यो समस्याको ठोस समाधान भएन। हाम्रो शिक्षा संरचनाले यस्तो समस्याको समाधान दिँदैन किनभने यो व्यक्तिको समस्या हो। हाम्रो शिक्षा संरचनाले व्यक्तिको समस्या समाधान गर्दैन, समूहको मात्रै गर्छ।

एक वर्षमा कक्षा एकमा कम्तीमा दस लाख विद्यार्थी भर्ना हुन्छन्। विद्यालय शिक्षा परीक्षा (एसइई) मा पाँच लाख हाराहारी विद्यार्थी सहभागी हुन्छन्।

एक कक्षामा भर्ना भएका दस लाख विद्यार्थीमध्ये आधाभन्दा बढी कहाँ जान्छन् र पाँच लाख विद्यार्थी मात्र एसइईमा सहभागी हुन्छन्?

एकअर्कातिर पन्छाउन भारीका भारी दोष छ तर ठोस जवाफ सरोकारवाला कुनै पनि निकायसँग छैन। उसकी छात्राको मन नलाग्ने समस्याको पनि समाधान छैन। माथि गरेको तालिमको कुरा सामुदायिक भनिने सरकारी विद्यालयका शिक्षकको हो। यी शिक्षकले नै पर्याप्त तालिम पाएका छैनन् भने निजी विद्यालयका शिक्षकको के कुरा!

हाल कक्षा एकदेखि दससम्ममा करिब ६५ लाख विद्यार्थी स्कुलमा छन्। यीमध्ये करिब ३० प्रतिशत अर्थात् करिब साढे १९ लाख विद्यार्थी संस्थागत भनिने निजी विद्यालयमा छन्।

यहाँ अर्को पक्ष के छ भने नतिजाका हिसाबले निजी विद्यालयहरू अगाडि मानिएका छन्। अधिकांश निजी विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने गरेका छन्, विद्यार्थीहरू तीक्ष्ण मानिएका छन्।

यस्तो नतिजाले शिक्षक तालिमको औचित्य र आवश्यकतामाथि जबरजस्त प्रश्न उठाएको छ– कुनै पनि तालिम नलिएकै, शिक्षाशास्त्र नपढेकै शिक्षकले पढाएर निजी विद्यालयले उत्कृष्ट नतिजा दिएका छन् भने तालिमको गीत किन गाउनु?

शिक्षक तालिमप्राप्त भएरमात्रै शिक्षण–सिकाइ राम्रो हुने भए शिक्षक सेवा आयोगको प्रतिस्पर्धाबाट छानिएर आएका र तालिमप्राप्त शिक्षक भएका सरकारी विद्यालयमा किन विद्यार्थीको नतिजा राम्रो छैन?

सोध्न र तर्क गर्न यो प्रश्न साँच्चै गम्भीर छ तर पढ्न मन नलाग्ने उसकी छात्राको समस्या समाधान गर्दैन। यस्तो समस्याको समाधान शिक्षा प्रणालीले दिनुपर्छ। तालिमप्राप्त शिक्षक यही प्रणालीको एक अभिन्न अंग हो। विद्यालय शिक्षा देशलाई आवश्यक जनशक्ति उत्पादनको जग हो। जग बलियो बनाउन विद्यालय शिक्षा बलियो हुनुपर्छ। यस निमित्त शिक्षक तालिमप्राप्त हुनुपर्छ भन्ने उसको मान्यता छ। 

आज विद्यालय तहमा भविष्यका कर्णधार भनिने, भविष्यमा देशको डुंगा खियाउने पैंसट्ठी लाख विद्यार्थी छन्। तिनलाई पढाउने, सिकाउने र दक्ष कर्णधार बनाउने शिक्षक दक्ष हुनै पर्छ। 

शिक्षक तालिम विद्यार्थीले परीक्षामा प्राप्त गरेको अंक वा नतिजासँग मात्र सम्बन्धित छैन। निजी र सरकारी विद्यालय केबल शुल्क लाग्ने र नलाग्ने होइनन्, वर्गीय पनि हुन्। 

यस्तो वर्गीय आधारले शिक्षक तालिमलाई अनावश्यक र औचित्यहीन सावित गर्न सक्दैन। उसको विचारमा शिक्षकलाई पाठ्यक्रम र पाठ्यवस्तुको भन्दा बढी शिक्षण–सिकाइ सिपको तालिम आवश्यक छ। मनोसामाजिक पक्ष पहिल्याउने र यससम्बन्धी समस्या समाधानमा मद्दत गर्ने सिप वर्तमानको आवश्यकता हो।

आजको शिक्षक तालिम बढी मात्रामा पाठ्यवस्तुसँग सम्बन्धित छ। शिक्षक–विद्यार्थी सम्बन्ध, शिक्षक–अभिभावक सम्बन्धसँग सम्बन्धित छैन। आज शिक्षकलाई चाहिएको तालिम यस सम्बन्धमा हो। 

शिक्षकको तालिममा राज्यले कति लगानी गरेको छ? तालिम दिने प्रशिक्षक कति योग्य छ? जवाफ नखोजी नहुने आजका मुख्य प्रश्नहरू यी हुन्।

उसले शिक्षक तालिमका लागि एक स्वायत्त संस्था आवश्यक देखेको छ जसमा शिक्षाका अनुसन्धाताहरू होऊन्, मनोपरामर्शतादाहरू होऊन्, बालमनोविज्ञानका विज्ञहरू होऊन्। 

यसैगरी, त्यो स्वायत्त संस्थाले आवश्यक सबै शैक्षिक सामग्री उत्पादन गरोस्, गराओस्। शिक्षकलाई शैक्षिक सामग्री प्रयोग गर्न दक्ष बनाओस्।

शिक्षाको तालुकवाला निकायले शिक्षकलाई बनिबनाउ दक्ष नसम्झोस्। शिक्षक पनि एक साधारण प्राकृतिक व्यक्ति हो, प्राकृतिक व्यक्तिमा हुने सबै प्रकारका संवेगहरू शिक्षकमा पनि हुन्छन् भनेर सम्झोस् र तालिमले शिक्षकका यी पक्षहरू पनि सम्बोधन गर्न सकोस्।


सबै लेख/रचनाहरु