रुकुम जिल्ला पश्चिम मुसीकोट नगरपालिका वडा नं. १३ (साविक छिवाङ् गा. वि. स. वडा नं. १) स्थित छिवाङ खोलाको न्यानो काखमा अवस्थित यस श्री महेन्द्र माध्यमिक विद्यालय छिबाङ् चौतारा रुकुमको स्थापना वि. सं. २०१७ सालमा भएको हो । रुकुम जिल्लामा कृषि उत्पादनको लागि ख्याति प्राप्त उर्वरा भूमि छिवाङ्को मुटुमा अवस्थित श्री महेन्द्र मावि छिवाङ् चौतारा जिल्लाकै एक स्रोतसाधन सम्पन्न विद्यालय हो ।

वि. सं. २०१७ सालमा यो विद्यालयको स्थापना हुनमा वि. सं. २०१६ सालको सेरोफेरो तत्कालिन छिवाङ्बासीहरु स्व. कणर्सिंह खत्री,स्व. धनिराम पुन स्व. भागीराम खत्री, स्व. शेरबहादुर खत्री, स्व. नैनसिंह खड्का, स्व. अमरबहादुर ओली, स्व. देउराम विष्ट, स्व. तिलकबहादुर खड्का, आइते कुमाल आदि शिक्षापे्रमी माहानुभावहरुको अतुलनीय योगदानको कारणले सेरीगाउँबाट शिक्षक वालकृष्ण शर्मालाई आमन्त्रण गरी छिवाङ् निवासी भागिराम खत्रीकै घरमा गुरुकुल शिक्षा प्रणालीबाट शिक्षाको सुरुवात भएको थियो । तत्पश्चात वि. सं. २०१७सालमा विद्यालयले विधिवत अनुमति प्राप्त गरी २०१७ देखि २०१९ साल सम्म उक्त पठनपाठन साविकको छिवाङ् गा. वि. स. वडा नं. १ वासी श्री मालवहादुर रोकायको घरमा सञ्चालन भएको इतिहास पाईन्छ । पछि वि.सं२०२० सालमा स्व. तुलाराम खत्रीले विद्यालयलाई केही जग्गा दान नि:शुल्क उपलब्ध गराएपछि उक्त जग्गामा भवन निर्माण गरी यस विद्यालयको औपचारिक रुपमा विधिवत् पठनपाठन सञ्चालन गरिएको थियो । तत्कालिन विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष स्व. कणर्सिंह खत्री र प्र. अ. वसन्त कुमार शर्मालाई विद्यालयको व्यवस्थापकीय र प्रशासनिक कार्यभार प्रदान गरी आफ्ना कामकाजहरुलाई अगाडि बढाइएको थियो ।

यसै पृष्ठभूमिमा छिवाङ् बासी, जनता विद्यालयकाशिक्षक र बुद्धिजीवीहरुले स्थापना कालदेखि हालसम्म यस विद्यालयलाई तन, मन र धनले नैतिक आर्थिक र भौतिक क्षेत्रमा अविस्मरणीय एवंम अतुलनीय योगदान गरी विद्यालयलाई आजको पुर्‍याईविद्यालयलाई बर्तमान अवस्था सम्म पुर्‍याएकोकुरा यहाँका स्थानीय सबैलाई जानकारीमा छ । शैक्षिक दृष्टिकोणले ख्यातिप्राप्त यस विद्यालय राष्ट्रिय महत्व बोकेको मध्यपहाडी लोकमार्गको किनारामा अवस्थित रहेकोले वर्तमान समयमा यातायातको दृष्टिकोणले झन सुगमतातुल्याएको छ । वि. सं. २०१७ सालमा कखराको ज्ञान दिलाउने ध्येयका साथ विद्यारुपी मन्दिरको रुपमा स्थापना भएको यस विद्यालयवि. सं. २०४८ सालमा निमावि र वि.स. २०५४ सालमा माविको अनुमति प्राप्त गरी वि. सं. २०५५ सालदेखि साविकको एसएलसी परीक्षामा विद्यार्थीहरुलाई सहभागी गराउन सफल भएको थियो ।

वि. सं. २०६४ सालमा तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी भक्तपुरबाट १०+२ को सम्बन्धन प्राप्त गरी उच्च मावि तर्फको शिक्षा सङ्काय तर्फ नेपाली, अङ्गे्रजी, गणित, स्वास्थ्य, जनसङ्ख्या लगायतका विषयमा पठनपाठनसञ्चालन गर्दै आउनुका साथै वि. सं. २०७० साल देखि कक्षा ११ र १२ मा शुद्ध विज्ञान विषयको पढाई समेत सञ्चालन गराउँदै आएको छ । आफ्नो शिक्षणकालका अनेकौं मोड र घुम्तिहरुलाई पार गर्दै वि. सं. २०६७ सालमा पचासौं वसन्त पार गरेको स्वर्णिम अवसरमा स्वर्णिम जयन्ती भब्य सभ्य ढङ्गले सफलतापूर्वक मनाउने सुनौलो अवसर पनि यस विद्यालयले प्राप्त गरेको छ ।

वर्तमान परिवेशमा “प्रविधियुक्त शिक्षा आजको टड्कारो आवश्यकता हो” भन्ने कुरालाई गम्भीर रुपमा महसुस गरी छिवाङवासी शिक्षाप्रेमी, बुद्धिजिवी र शिक्षकहरुको बीचमा घनिभूतरुपमा छलफल गर्दै कम्प्युटर शिक्षा लागुगरी वडा स्तरका कम्प्युटर प्रणालीका कामकाजलाई सुचारु गर्नुका साथै १०+२ सम्म कम्प्युटर ऐच्छिक विषयका रुपमा पठन पाठन समेत भईरहेको छ । वि. सं. २०७२ सालदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTEVT सानोठिमी भक्तपुरबाट प्राविधिक शिक्षातर्फ १८ महिने कृषि जेटिए र वि. सं. २०७३ सालदेखि ३ वर्षे डिप्लोमा तह आइएस्सी–एजी (वनस्पति विज्ञान) , बालीविज्ञान कार्यक्रमको समेत सम्बन्धन प्राप्त गरी सीपमूलक, दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने हेतुले रोजगारमूलक शिक्षा प्रदान गर्दै आईरहेको सबैका सामु घाम जत्तिकै छर्लङ्ग छ ।